विराटनगर । नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप मंगलबारबाट सुरु हुँदैछ ।
विराटनगरस्थित सहिद रंगशालामा मंगलबार नेपाल र भुटानबीचको खेलसंगै महिला साफको सुरुवात हुनेछ ।
यस संस्करणको साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । दुई समूहमा विभाजन गरेर खेलाईने प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
महिला साफको लागि सहभागी ६ वटै टोली विराटनगर आईसकेका छन् । र, ६ वटै टोलीले दोस्रो चरण पुग्ने लक्ष्य लिएका छन् ।
प्रतियोगिता अघि आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै ६ टोलीका मुख्य प्रशिक्षक र कप्तानले सुरुवातमा सेमिफाइनल पुग्दै उपाधि उचाल्ने लक्ष्य लिएको बताएका छन् ।
प्रतियोगिता सुरु अघि के भन्छन् सहभागी टोलीका प्रशिक्षक र कप्तानहरु ?
हरि खड्का, प्रशिक्षक नेपाल
साबित्रा भण्डारी नेपालको लागि महत्वपूर्ण खेलाडी हुन् । उनि अहिले खेलका लागि पूर्ण रुपमा तयार छिन् । हामी सबै विपक्षि राष्ट्रलाई कम आँक्ने छैनौं । नेपालको मनोबल उच्च रहेको छ । पहिले समूह चरणमा नै ध्यान दिने छौं । घरेलु मैदानमा खेल्नु दबाब भन्दा पनि अवसर हो । सबै खेलाडीमा उपाधि जित्ने भोक रहेको छ ।
निरु थापा, कप्तान नेपाल
नेपालले उपाधि जित्नेमा आशावादी रहेको छौं । तयारी राम्रो रहेको छ । डिफेन्स र अट्याकमा सुधार भएको छ । घरेलु मैदानमा दबाब पनि छ ।
गोलम रब्बानी छोटोन, बंगलादेश प्रशिक्षक
सबै टिमले आफ्नो १००% लगाएर खेल्ने छन् र प्रतियोगिता निकै प्रतिस्प्रधात्मक हुनेछ । भारत साविकको विजेता हो र नेपालले घरेलु समर्थकको साथ पाउने हुँदा यी दुई राष्ट्र हाम्रो लागि बाधक बन्न सक्ने छन् ।
हामीले करिब २ बर्षदेखि साफको लागि मेहनत गर्दै आएका छौं । हाम्रो लक्ष्य भनेको सेमीफाइनल पुग्ने नै हो ।
म्यामोल रकी, प्रशिक्षक भारत
हिरो गोल्ड कपबाट हामीले धेरै सिक्ने मौका पाएका छौं । हिरो गोल्ड कपमा नेपालसंगको हारले टिममा खासै असर गरेको छैन । हामी पाँचौ पटक उपाधि जित्ने लक्ष्य सहित नेपाल आएका हौँ ।
अशालता देवी, कप्तान भारत
हामीलाई विश्वास छ कि हाम्रो विपक्षि राष्ट्रले हामीलाई कडा चुनौती दिने छन् ।
सुङ जे ली, भुटान प्रशिक्षक
हाम्रा टिममा धेरै युवा खेलाडी समावेश छन् । हामीले २-३ बर्षको लागि टिम तयार गरेका छौं र नतिजा पनि २-३ बर्ष पछि नै आशा गर्ने छौं । हामीले नेपाली यू-१९ महिला टिमसंग खेल्ने मौका पायौं र त्यसले धेरै मद्दत पुगेको छ ।
सोन्मा छोडेन, कप्तान भुटान
नेपाल बलियो टोलि हो तर, हामीले टक्कर दिने छौं भन्नेमा आशावादी छौं । हामीले सोहि अनुसार तयारी गरेका छौं ।
मोहमद आतिफ, प्रशिक्षक माल्दिभ्स
हाम्रो लक्ष्य भनेको सेमिफाइनल पुग्नु रहेको छ ।
फादुआ जाहिर, कप्तान माल्दिभ्स
हाम्रो पहिलो लक्ष्य भनेको समूह चरण पार गर्ने रहेको छ । त्यसपछि उपाधिबारे सोच्ने छौँ ।
तिलक रोहण अल्पोन्सु, श्रीलंका प्रशिक्षक
हाम्रो समूहमा रहेका राष्ट्र (भारत र माल्दिभ्स) एकै स्तरका छन् । हामीलाई आफ्नो खेलाडीप्रति पूर्ण विश्वास छ । हामीले उनीहरुलाई टक्कर दिने कोशिस गर्ने छौं ।
इरान्दी कुमुदुमाला, कप्तान श्रीलंका
हामीले सेमिफाइनल पुग्ने लक्ष्य बनाएका छौं ।