काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी (साम्बा) ले घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपमा नेपालका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बन्ने लक्ष्य लिएको बताएकी छिन् ।
विराटनगरमा मंगलबार सुरु हुने साफ अघि स्ट्राइकर साबित्राले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा आफुलाई उभ्याउने चाहना भएको बताएकी हुन् ।
नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा साबित्रा तेस्रो स्थानमा रहेकी छिन् । साबित्रा भन्दा अघि कप्तान अनु लामा र पूर्व कप्तान जमुना गुरुङ रहेकी छिन् ।
अनुले ३५ अन्तराष्ट्रिय गोल गर्दै नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छिन् । यस्तै पूर्व कप्तान जमुना २५ गोल गरेर दोस्रो स्थानमा रहेकी छिन् ।
साबित्राले घरेलु साफमा सुरुवातमा पूर्व कप्तान जमुनाको २५ गोलको कीर्तिमानी भङ्ग गर्ने लक्ष्य रहेको बताईन् ।
'साफबाट अनुको भन्दापनि सुरुवातमा जमुनाको गोलको रेकर्डलाई ब्रेक गर्ने चाहना छ ।’ साबित्राले खेलपाटीसँग भनिन् ।
साबित्राले नेपालका लागि २२ अन्तराष्ट्रिय गोल गरिसकेकी छिन् ।
साबित्राले नेपालबाट १९ क्याम्प खेलिसकेकी छिन् । सन् २०१६ को साफ च्याम्पियनसिपमा साबित्राले नेपालका लागि १२ गोल गरेकी थिईन् ।