काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले साफ च्याम्पियनसिपमा प्रतिद्वन्दी टोलीको ईज्जत गर्ने बताएका छन् । मंगलबार विराटनगरमा सुरु हुने महिला साफ च्याम्पियनसिपको अघिल्लो दिन पत्रकार सम्मेलनमा उनले प्रतिद्वन्दीको ईज्जत गर्दै प्रत्येक खेलमा सचेत भएर खेल्ने प्रतिक्रिया दिए ।
‘सबै प्रतिद्वन्दीको ईज्जत गर्नेछौ । राम्रो खेल्दै पहिलो खेलमा भुटानविरुद्व जित निकाल्ने विश्वास छ ।’ उनले भने, ‘पछिल्लो प्रर्दशनबाट नेपाली टिमको मनोबल उच्च छ । बेन्च समेत बलियो छ । हाम्रो पहिलो लक्ष्य समुह चरण पार गर्नुहुनेछ ।’
नेपालले उद्घाटन खेलमा मंगलबार भुटानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
मुख्य प्रशिक्षक खड्काले प्रतियोगिताका लागि आफुले राम्रो टिम बनाएको दाबी गरे ।
उनले साफमा नेपाल च्याम्पियन बन्ने दाबी समेत गरे । भारत, बंगलादेश र नेपालको उपाधि सम्भावना बारे बोल्दै खड्काले घरेलु भुमिमा नेपाली टिम च्याम्पियन बन्ने दाबी गरेका हुन् ।
‘सावित्रा नेपाली टिमको मुख्य खेलाडी हुन् । उनी अहिले फिट छिन् ।’ खड्काले थपे ।
पछिल्लो समय ठेउलाको संक्रमणले सावित्रा अस्पतालमा भर्ना भएकी थिईन् । प्रशिक्षक खड्काले नेपालले फाईनलमा भारतसंग खेल्ने समिकरणको अनुमान गरे ।
‘मलाई लाग्छ नेपालले फाईनलमा भारतसंग खेल्नेछ ।’ उनले थपे, ‘मैले हेरेपछि टिमले राम्रो गरिरहेको छ । मैले दबाब भन्दा नि अवसरको रुपमा लिएको छु । टिममा जितको भोक छ । हामी पहिलो खेलमा भुटानसंग खेल्नेछौ । त्यसपछि फरक रणनीतिका साथ बंगलादेशविरुद्व उत्रनेछौ ।’
नेपाली टिमकी कप्तान निरु थापाले नेपाल प्रतियोगितामा च्याम्पियन हुने विश्वास व्यक्त गरिन् ।
‘हामी च्याम्पियन हुन्छौ जस्तो लागेको छ । हौसला र दबाब दुवै हुनेछ । हाम्रो तयारी राम्रो छ । टिमको आक्रमण अझ राम्रो बनेको छ ।’ उनले थपिन् ।