एजेन्सी । अफगानिस्तानका बलर राशिद खानले अन्तराष्ट्रिय क्रिकेटमा २ सय विकेट पुरा गरेका छन् ।
आयरल्याण्डविरुद्धको पाँचौ एकदिवसीय क्रिकेटमा पाउल स्टर्लिङको विकेट हात पार्दै राशिदले २ सयौं विकेटको कोशेढुंगा पुरा गरे ।
सन् २०१५ मा जिम्बाबेविरुद्धको एकदिवसीय क्रिकेटमा डेब्यु गरेका लेग स्पिनर राशिदले ५४ इनिङ्स खेल्दै एकदिवसीयमा १२३ विकेट हात पारेका छन् ।
राशिदले सन् २०१७ मा वेष्ट इण्डिजविरुद्धको एकदिवसीयमा १८ रन खर्चिदै ७ विकेट हात पारेका थिए । राशिदको उक्त बलिङ प्रदर्शन सर्वोत्कृष्ट बलिङ फिगरको चौथो स्थानमा रहेको छ ।
गत बर्ष सम्पन्न एसिया कपमा राशिद सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । ५ खेलमा १० विकेट हात पार्दा राशिदको इकोनोमी ३.७२ रहेको थियो ।
राशिदलाई उत्कृष्ट बलर बनाउनुमा उनको बलिङमा पाइने मिश्रण नै हो । गत बर्ष राशिद एकदिवसीय खेलमा सबै भन्दा छिटो १०० विकेट पुरा गर्ने खेलाडी बनेका थिए ।
राशिदले सन् २०१५ मा जिम्बाबेविरुद्धको टी-ट्वान्टी खेलबाट अन्तराष्ट्रिय टी-ट्वान्टीमा डेब्यु गरेका थिए । उनले ३८ टी-ट्वान्टी खेलमा ७५ विकेट हात पारिसकेका छन् । राशिद टी- ट्वान्टी क्रिकेटको वरियताको शीर्ष स्थानमा रहेका छन् ।
आयरल्याण्डसंगको तेस्रो टी-ट्वान्टी खेलमा ह्याट्रिक लिएका राशिद टी-ट्वान्टीमा ह्याट्रिक लिने विश्वका सातौं खेलाडी बनेका थिए ।
श्रीलंकाका लाथिस मालिंगापछि राशिद १ ओभरमा ४ विकेट हात पार्ने पहिलो खेलाडी हुन् ।
हाल राशिद टी-ट्वान्टीमा सर्वाधिक विकेट लिने खेलाडीको छैठौं स्थानमा रहेका छन् ।
हालै टेष्ट मान्यता पाएको अफगानिस्तानले १ मात्र टेष्ट खेलेको छ । उक्त खेलमा राशिदले ३४.५ ओभर बलिङ गर्दै १५४ रन खर्चेर २ विकेट हात पारेका थिए ।