एजेन्सी । आयरल्याण्डविरुद्धको पहिलो टि - ट्वान्टी क्रिकेटमा पाहुना टोली भारत विजयी भएको छ । बुधबार राति भएको खेलमा भारतले आयरल्याण्डलाई ७६ रनले हराएको हो ।
डुब्लीनमा भारतले दिएको २०९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । आयरल्याण्डका जेम्स साननोनले ६० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै आयरल्याण्डका स्टुवार्ड थम्पसनले १२, एन्डी बलब्रिनेले ११ तथा केभिन ओ ब्रायनले १० रन जोडे । भारतका कुलदिप यादबले ४, युजभेन्द्र चाहलले ३ तथा जस्प्रित बुम्हाराले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २०८ रन जोडेको थियो । भारतको लागि रोहित शर्माले ९७ तथा शिखर धवनले ७४ रनको अर्धशतकीय पारी खेलेका थिए । आयरल्याण्डका पिटर चेस एक्लैले ४ विकेट लिए ।
यो जितसंगै भारतले दुई खेलेको टि - ट्वान्टी सिरिजमा १ - ० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रबार हुनेछ ।