एजेन्सी । प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले पहिलो पराजय ब्यहोरेका छन् ।
युनाईटेडको अन्तरिम प्रशिक्षकमा नियुक्त भएपछि सोल्सायरले पहिलो पटक पराजय ब्यहोरेका हुन् । आईतबार राति भएको खेलमा युनाईटेड लण्डन क्लब आर्सनलसंग २–० ले पराजित बन्यो ।
ग्रानिट जाकाले १२ औ मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
आर्सनलका गोलकिपरले रोमेलु लुकाकुका दुई उत्कृष्ट प्रहारको बचाउ गर्दै युनाईटेडलाई निराश पारेका थिए ।
पियरी एम्रिक अबुमियाङले ६९ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु क्लबको जित सुनिश्चित गरे ।
पछिल्लो नतिजाले शीर्ष चारको उपाधि होड रोचक बनेको छ । आर्सनल ३० खेलबाट ६० अंक सहित तालिकाको चौथो स्थानमा छ । युनाईटेड ५८ अंक सहित पाँचौ स्थानमा छ ।
अर्को लण्डन क्लब चेल्सी ५७ अंक सहित चौथो स्थानमा दाबी गरिरहेको छ । तीन वटै क्लबको शीर्ष चार भित्र पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना उत्तिकै छ ।