झापा । झापा गोल्डकप आयोजक समितिले झापा-११ का पूर्व खेलाडी नरेन्द्रमणि लिम्बुलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने भएको छ ।
आयोजकले चौथो संस्करणको झापा गोल्डकपको फाइनलका दिन सोमबार लिम्बुलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्ने जनाएको छ । अवार्ड स्वरुप लिम्बुलाई एक थान मोटरसाइकल प्रदान गर्न लागेको आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए ।
सन् १९७९ मा बुवा रुपनन्द जबेगु र आमा धनकुमारी लिम्बूको कोखबाट हङकङमा जन्मेका लिम्बुले जिल्लास्तर हुँदै पूर्वाञ्चल र काठमाडौँको 'ए' डिभिजन क्लबबाट समेत फुटबल खेलेर झापाको गौरवमा उचाइ थपेका थिए ।
बिस २०७१ सालमा झापा ११ एफसी खडा हुँदा उनी मुख्य खेलाडीका रुपमा थिए । झापा ११ को मिडफिल्डको जिम्मेवारी सम्हालेका लिम्बु नियमित कप्तान प्रवेश कटुवालको अनुपस्थितिमा उनले पनि कप्तानी सम्हाल्थे ।
लिम्बूकै कप्तानीमा विराट गोल्डकप झापा ११ ले उचालेको थियो । त्यस्तै, माइभ्याली गोल्डकप, एन्फा कप, सुरुङ्गा गोल्डकप, कटारी गोल्डकप, काँकरभिट्टा गोल्डकपको उपाधि झापा ११ ले रक्षा गर्दा उनको भूमिका महत्वपूर्ण थियो ।
नेपालको 'ए' डिभिजन क्लब थ्री स्टार क्लबबाट समेत खेलेका उनको फुटबल करियर सुरुमा ब्वाइज युनियनबाट भएको थियो ।
२०७४ सालबाट झापा ११ को टिममा नरहेका उनले डि लेभल लाइन्सेन्सको कोर्ष पूरा गरी रिजल्टको पर्खाइमा छन् ।