विराटनगर । घरेलु मैदानमा आयोजना हुने पाँचौ महिला साफ च्याम्पियनसिपको तयारी पुरा भएको छ ।
आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रेस विज्ञप्ति निकाल्दै मंगलबार सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
'प्रतियोगिताको संचालनको निम्ति आयोजक समितिबाट सम्पूर्ण तयारी भईसकेको जानकारी दिन चाहान्छौ,' प्रतियोगिता तयारी समितका संयोजक पंकज नेम्बाङ र प्रचार प्रसार समितिका संयोजक किरण राईले हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ ।
दक्षिण एसियाका ६ राष्ट्रले प्रतिस्पर्धा गर्ने महिला साफ च्याम्पियनसिप विराटनगरको सहिद रंगशालामा हुनेछ । च्याम्पियनसिपमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । पाकिस्तानले भने सहभागिता जनाउने छैनन् ।
च्याम्पियनसिपको उद्घाटन खेलमा समूह 'ए' को नेपाल र भुटानले प्रतिस्पर्धा गर्नेछन् । यस्तै नेपालको समूहमा बंगलादेश पनि रहेको छ । समूह 'बी' मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।
प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले गर्ने एन्फाले जनाएको छ ।
यस्तै एन्फाले प्रतियोगिताको लागि १ करोड ६५ लाख खर्च लाग्ने जनाएको छ । एन्फाले प्रतियोगिता हुने सहिद रंगशालाको भौतिक पूर्वाधार निर्माण गर्न विराटनगर महानगरपालिकाबाट १ करोड सहयोग गरेको समेत जनाएको छ ।
एन्फाले साफ च्याम्पियनसिपका लागि फरक फरक टिकट मूल्य राखेको छ । लिग चरणका लागि एन्फाले भिआइपी तर्फ ३ सय र साधारण प्याराफिटतर्फ २ सयको टिकट राखिएको एन्फाले जनाएको छ ।
टिकट इसेवाबाट र महिला शिप विकास कला केन्द्र विराटनगर र विरेन्द्र सभा गृहबाट किन्न सकिने छ ।
रंगशाला १ बजेदेखि २ बजेसम्म खुल्नेछ । रंगशालामा पानीको बोत्तल बाहेक अन्य वस्तुहरु हेल्मेट, सिक्का, छाता, झण्डा राख्ने डण्डी, डटपेन, सलाई, लाइटर लगायत प्रज्वलनशील बस्तु लैजान पाईने छैन् ।