एजेन्सी । घरेलु प्रतियोगिता एनएसडब्लु प्रिमियर लिग क्रिकेटमा अष्ट्रेलियाका पुर्व कप्तान डेभिड वार्नरले आक्रमक इनिङ्स खेल्दै शतक प्रहार गरेका छन् ।
बल टेम्परिङको आरोपमा निलम्बनमा रहेका वार्नरले निलम्बन फुकुवा हुनै लाग्दा विस्फोटक ब्याटिङ गरेका हुन् । रान्डविक पिटरसामका ब्याटसम्यान वार्नरले ७७ बलमा ११० रनको विस्फोटक इनिङ्स खेलेका हुन् ।
गत बर्ष दक्षिण अफ्रीकाविरुद्धको सिरिज दौरान बल टेम्परिङको आरोपमा स्टिभ स्मिथसहित वार्नरलाई एक बर्षको लागि निलम्बन गरिएको थियो । यस्तै वार्नर केहि महिनायता कुहिनोको चोटको कारण मैदान बाहिर रहेका थिए ।
तर, निलम्बन फुकुवा बाँकी रहदा वार्नरले पेनरिथविरुद्ध शतक बनाउदै आफु फिट रहेको प्रमाण दिएका छन् । वार्नरले ७ छक्का र ४ चौका प्रहार गरे ।
वार्नर विश्वकप अघि उच्च प्रदर्शन गर्न चाहन्छन् । किनकी वार्नरले विश्वकप खेल्ने योजना बनाएका छन् ।
विश्वकपमा स्थान बनाउन वार्नरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) मा उच्च प्रदर्शन गर्नु पर्ने हुन्छ । यस सिजनको आईपीएलमा वार्नर सनराइजर्स हैदराबादबाट खेल्ने छन् ।