पोखरा । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि निर्माण सक्नेगरी पोखरा रंगशालाको शिलान्यास गरिएको छ ।
पोखरा रंगशाला परिसरमा आइतबार यूवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार, राष्ट्रिय खेलकुद परिसद (राखेप) का सदस्य सचिव केशव कुमार विष्ट लगायतले शिलान्यास गरेका हुन् ।
राखेपले पोखराको रंगशाला निर्माणका लागि यस अघि नै दुई कम्पनीसंग सम्झौता गरिसकेको छ । राखेपले भारतीय कम्पनी ग्रेट स्पोर्टस इन्फ्रा प्राली र नेपाली कम्पनी एमए कन्सट्रक्सन प्रालीले जोइन्ट भेन्चरलाई निर्माणको जिम्मेवारी दिएको थियो । राखेपले रंगशाला निर्माणका लागि १ अर्ब २८ करोड रुपैयाँमा सम्झौता गरेको थियो ।
गत बर्षबाटै प्याराफिट भत्काएर निर्माण प्रक्रिया अघि बढाईएको पोखरा रंगशाला १५ हजार ५ सय दर्शक क्षमताको हुनेछ । त्यसमा रंगशालाको निर्माणको क्रममा दर्शक क्षमता घटबढ हुने बताइएको छ ।
अन्तर्राष्ट्रिय मापदण्डमा बन्ने रंगशालाको चारैतर्फ छानासहित प्याराफिट रहनेछ । यस्तै मैदानमाको छेउमा सिन्थेटिक ट्रयाक रहनेछ ।
शिलान्यासपछि बोल्दै मन्त्री विश्वकर्माले बिस २०७६ सालको असार मसान्तसम्म काम सक्नेगरी दुई कम्पनीलाई निर्माणको जिम्मेवारी दिएको बताए ।
यस्तै सदस्य सचिव बिष्टले पोखरा रंगशालाको काम छिटो सम्पन्न गर्नेतर्फ सबैले ध्यान दिनु पर्ने बताए ।