विराटनगर । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्ट्राइकर साबित्रा भण्डारी (साम्बा) घरेलु मैदानमा आयोजना हुने पाँचौ महिला साफ च्याम्पियनसिप खेल्न पूर्ण फिट भएकी छिन् ।
साफको लागि बन्द प्रशिक्षणकै समय अनुहारमा आएको ठेउलाका कारण साबित्रा बिरामी भएकी थिईन् । जसको कारण साबित्राले साफ खेल्न सक्ने वा नसक्ने भन्नेमा अन्योलता बढेको थियो ।
तर, नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले साबित्रा साफका लागि पूर्ण फिट भएको जानकारी खेलपाटीलाई गराए ।
साफका लागि शुक्रबार विराटनगर आएको नेपाली टोलीले शनिबार सामान्य अभ्यास गरेको थियो । उक्त अभ्यासमा साबित्रा सामेल भएकी थिईन् । यस्तै आइतबार बिहान भएको अभ्यासमा पनि साबित्राले मैदानमा बिताएकी थिईन् ।
नेपाली महिला फुटबलमा गोल मेसिन मानिने साबित्राले आफु पूर्ण स्वस्थ्य भएको र साफ खेल्न पूर्ण फिट रहेको बताईन् ।
साफ च्याम्पियनसिप मंगलबारबाट विराटनगरको सहिद रंगशालामा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपालले भुटानसंग प्रतिस्पर्धा गर्नेछ ।