एजेन्सी । क्रिकेट समर्थकहरुमाथि गरिएको एक अध्ययनले विश्वमा एकदिवसीय र टी-ट्वान्टी क्रिकेट भन्दा टेष्ट क्रिकेट लोकप्रिय देखिएको छ ।
विश्वको प्रतिष्ठित तथा पुरानो क्रिकेट क्लब, मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले गरेको अध्ययनमा छोटो फर्म्याटको क्रिकेट भन्दा टेष्ट क्रिकेट रुचाउने पाईएको छ । उक्त अध्ययनमा ८६% समर्थकले टेष्ट क्रिकेट मन पराउने बताएका छन् ।
विश्वमा पछिल्लो समय टेष्ट क्रिकेटको लोकप्रियता घट्दै गएको र टी-ट्वान्टी खेल समर्थकको रोजाईमा पर्दै गएको मानिदै आएको छ । तर, एमसीसीको उक्त अध्ययनले टेष्ट क्रिकेटको लोकप्रियता घट्दै गएको तथ्यलाई गलत साबित गरेको छ ।
क्रिकेटको उत्पति मानिने इंग्ल्याण्डमा भने अझै टेष्ट क्रिकेट नै लोकप्रिय रहेको छ । इंग्ल्याण्ड बाहिर भने नतिजा केहि फरक देखिएको छ ।
पछिल्लो समय अष्ट्रेलियाको बिग बास, भारतको इण्डियन प्रिमियर लिग, जमैकाको क्यारिबियन लिग जस्ता फ्रेन्चाईज टी-ट्वान्टी लिगहरु निकै रुचाइएको छ । तर, एमसीसीको अध्ययनले ८६% समर्थकहरुले क्रिकेटको सबै भन्दा लामो ढाँचाको खेल नै "परम" रहेको बताएका थिए ।
एमसीसीको अध्ययनमा १०० भन्दा बढी देशका १३ हजार भन्दा बढी क्रिकेट समर्थक सहभागी रहेका थिए ।
अध्ययनमा समर्थकहरुले टेष्ट क्रिकेट पछि एकदिवसीय क्रिकेट मन पराउने बताएका थिए । सहभागी समर्थकहरुले टी-ट्वान्टी क्रिकेटलाई तेस्रो रोजाईमा राखेका थिए ।
एकवर्ष अघि अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले गरेको अध्ययनमा पनि टेष्ट क्रिकेट रुचाउने गरेको पाईएको थियो ।उक्त अध्ययनमा १९ हजार समर्थकमध्ये ७०% ले टेष्ट क्रिकेट हेर्न रुचाउने गरेको बताएका थिए ।