विराटनगर । नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले गर्ने भएका छन् ।
महिला साफ च्याम्पियनसिप प्रचार प्रसार समितिका संयोजक किरण राईले च्याम्पियनसिपको उद्घाटन प्रचण्डले गर्ने जानकारी गराए । उद्घाटन अपरान्ह २ बजे विराटनगरस्थित सहिद रंगशालामा हुनेछ ।
च्याम्पियनसिप मंगलबारबाट प्रदेश १ को विराटनगरमा आयोजना हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भईसकेको समेत आयोजकले जनाएको छ ।
महिला साफमा नेपालसहित, भारत, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । पाकिस्तानले भने सहभागिता जनाउने छैनन् ।
च्याम्पियनसिपको उद्घाटन खेलमा समूह 'ए' को नेपाल र भुटानले प्रतिस्पर्धा गर्नेछन् । यस्तै नेपालको समूहमा बंगलादेश पनि रहेको छ ।
समूह 'बी' मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् ।