एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा रहिम स्ट्रलिङले ह्याट्रिक गरेपछि सिटीले वाट्फोर्डलाई हराएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४६ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए ।
खेलको ५० औं मिनेटमा स्ट्रलिङले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको ५९ औं मिनेटमा स्ट्रलिङले ह्याट्रिक पुरा गर्दा सिटी ३-० ले अघि रह्यो । खेलको ६६ औं मिनेटमा वाट्फोर्डका जेर्राड डेउलोफेउले एक गोल फर्काएपनि खेल सिटीले ३-१ ले आफ्नो बनायो ।
जितसंगै सिटीले लिगमा दोस्रो स्थानको लिभरपुलमाथि ४ अंकको अग्रता बनाएको छ । सिटीले ३० खेलबाट ७४ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुलको ७० अंक छ । पराजित वाट्फोर्ड ४३ अंकसहित आठौं स्थानमा छ ।