काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम लाहोर क्यालेण्डर्स पराजित भएको छ । शनिबार भएको खेलमा लाहोर इस्लामावाद युनाइटेडसंग ४९ रनले पराजित भएको हो ।
पाकिस्तानको कराँचीमा इस्लामावादले दिएको २३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लाहोरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो ।
लाहोरका सोहिल अख्तरले ७५ रन जोड्दा कप्तान फकर जमानले ३८ रन बनाए । सन्दीप ६ रनमा अविजित रहे । इस्लामावादका फाहिम अस्राफ एक्लैले ६ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इस्लामावादले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।
इस्लामावादका लागि क्यामरुन डेलपोर्टले ११७ रनको शतकीय इनिङस खेले ।
यस्तै आसिफ अलीले अविजित ५५ रन जोड्दा वाल्टनले ४८ रन बनाए । लाहोरका सन्दीप लामिछाने, साहिन अफ्रिदी र डेभिड विसेले समान १/१ विकेट लिए ।
जितसंगै १० खेलमा ५ जित हात परेको इस्लामावाद १० अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ ।
१० खेलमा ३ जित हात पारेको लाहोर ६ अंक सहित पाँचौ स्थानमा रहेको छ ।