काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब चौंथो संस्करणको झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा क्यामरुनी क्लब दाउफिन्सलाई १-० गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
डोमालाल राजवंशी रंगशालामा आर्मीले आत्मघाती गोलबाट जित निकालेको हो । दाउफिन्सका सिलो नाङगाले २३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । उनले किपरलाई चेष्टबाट ब्याक पास दिने क्रममा गोल गरेका थिए ।
अब आर्मीले सोमबार हुने फाइनलमा आयोजक झापा-११ संग खेल्नेछ । पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगिसकेको छ ।
आर्मीले क्वाटरफाइनलमा एपीएफ क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । दाउफिन्सले लाली रुपन्देही-११ लाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।