झापा । पूर्व अन्तराष्ट्रिय फुटबल खेलाडी गम्भीर राई र महिला फुटबल टिमकी पूर्व राष्ट्रिय गोलरक्षक अस्मिता खवास सम्मानित हुने भएका छन् ।
झापा गोल्डकप आयोजक समितिले चौथो संस्करणको प्रतियोगिता दौरान दुई पूर्व खेलाडीलाई नगदसहित सम्मान गर्ने जनाएको छ ।
आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले यसवर्ष झापा भद्रपुरका गम्भीर र धुलाबारीकी अस्मितालाई सम्मान गर्न लागिएको बताए ।
बिस २०४२ सालदेखि विद्यालयस्तरीय फुटबल प्रतियोगिताबाट फुटबलमा लागेका राईले नेपालको विभिन्न 'ए' डिभिजन क्लबमा आवद्ध रही धेरै प्रतियोगिता खेलेका थिए । उनले २०५२ सालमा न्यूरोड टिम (एनआरटी)मा आवद्ध भएपछि मालदिभ्समा खेलेका थिए । त्यस्तै, २०५३ सालमा यु-१९ को उमेर समूहबाट थाइल्याण्डमा भएको प्रतियोगितामा सहभागिता जनाएर तीन गोल गरेका थिए ।
तीन साताअघि भारतको उडिसामा सम्पन्न हिरो कपमा नेपाली महिला फुटबल टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका राई मुनाल क्लबका प्रशिक्षक समेत हुन् ।
अर्की सम्मानित खेलाडी खवासले पनि १३ वर्षको उमेरमै राष्ट्रिय टोलीको सदस्य बनेकी थिइन् । सन् २००२ मा राष्ट्रिय टिममा डेब्यू गरेकी खवास अहिले यु १९ महिला फुटबल टिमकी प्रशिक्षक हुन् । सन् २००२ मा नर्वेमा भएको नर्वे कप, २००४ मा चीनमा भएको एसियन गेम, २०१० मा बंगलादेशमा भएको सागसहित विभिन्न प्रतियोगितामा उनले सहभागिता जनाइन् भने सन् २०१२ मा गोलरक्षकको भूमिका निर्वाह गरेकी थिइन् ।
अहिले उनी प्रशिक्षककै भूमिकामा छन् । अस्मिताले महिला फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले २०७० सालदेखि आफ्नै ठाउँमा सन साइन महिला फुटबल क्लब स्थापना गरेर फुटबलको विकासमा अघि बढिरहेकी छन् ।
दुवैलाई आयोजकले चौथो संकरणको गोल्डकपको फाइनलमा नगद २५ हजारसहित सम्मान गर्नेछ ।
आयोजकले यसैवर्ष क्यान्सरपीडित झापा जिल्ला फुटबल संघका पूर्व सचिव तिलक गुरुङलाई नगद २५ हजार उपचारार्थ सहयोग प्रदान गरेको थियो ।