काठमाडौं । झापामा जारी चौंथो संस्करणको झापा गोल्डकप फुटबलको दोस्रो सेमीफाइनलमा आज (शनिबार) विभागीय टिम त्रिभुवन आर्मी क्लब र क्यामरुनी क्लब दाउफिन्सले प्रतिस्पर्धा गर्दैछन् ।
डोमालाल राजवंशी रंगशालामा आर्मी र दाउफिन्सबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । र, दुवै टोलीको नजर फाइनल प्रवेश गर्नु हुनेछ ।
आर्मी र दाउफिन्सबीचको विजेताले फाइनलमा आयोजक झापा-११ संग खेल्नेछ । पहिलो सेमिफाइनलमा थ्री स्टार क्लबलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै झापा उपाधि नजिक पुगिसकेको छ ।
मनाङ मर्स्याङ्दी क्लबको स्थानमा झापा गोल्डकप खेल्न लागेको दाउफिन्स आर्मीलाई हराउदै उपाधि नजिक पुग्न चाहन्छ । मोफसलको प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको दाउफिन्स आर्मीसंग आहा रारा गोल्डकपमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
पोखरामा सम्पन्न आहा राराको सेमिफाइनलमा आर्मीले दाउफिन्सलाई १-० गोल अन्तरले पराजित गरेको थियो । आर्मी भने आहा राराको जितलाई कायम राख्न चाहन्छ ।
आर्मीले क्वाटरफाइनलमा एपीएफ क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । दाउफिन्सले लाली रुपन्देही-११ लाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।