एजेन्सी । घरेलु टोली वेष्ट इण्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले जितेको छ । शनिबार राति भएको दोस्रो टी-ट्वान्टीमा वेष्ट इण्डिजलाई १३७ रनले परजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो ।
बासेटेरीमा इंग्ल्यान्ड दिएको १८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिज ११ ओभर ५ बलमा मात्र ४५ रन जोड्दा अलआउट भयो ।
इन्ग्लिश बलर चम्किएपछि वेष्ट इण्डिजका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंक जोड्न सके । वेष्ट इण्डिजका शिम्रोन हिटमेयर र कार्लोस ब्रेथवेटले समान १०/१० रन जोडे ।
इंग्ल्यान्डका क्रिस जोर्डनले ४ विकेट लिए । यस्तै डेभिड विली,आदील राशिद र लियम प्लुनकेटले समान २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १८२ रन जोडेको थियो।
इंग्ल्यान्डका लागि साम विलिङ्सले ८७ रन योगदान दिंदा जोय रुटले ५५ रन बनाए । वेष्ट इण्डिजका फाबियान एलेनले २ विकेट लिए ।
यो जितसंगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा एक खेल अगाबै २-० ले जितेको हो । अब इंग्ल्यान्डले घरेलु टोलीसंग अन्तिम टी-ट्वान्टी खेल्ने छ ।