एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा शीर्ष स्थानको युभेन्ट्सले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा युभेन्ट्सले उडीनेसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो गरेको हो ।
घरेलु मैदानमा युभेन्ट्सलाई जित दिलाउन मोइसे किएनले दुई गोल गरे । इम्री कान र ब्लेइस माटुइडीले एक एक गोल गरे । उडीनेसका केभिन लासंगाले एक गोल फर्काए ।
खेलको ११ औं मिनेटमा किएनले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । ३९ औं मिनेटमा किएनले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सको अग्रता २-० को बनाए ।
खेलको ६७ औं मिनेटमा कानले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सको अग्रता ३-० को बनाए । ७१ औं मिनेटमा माटुइडीले गोल गर्दै युभेन्ट्सको अग्रता ४-० को बनाए । त्यसपछि खेलको ८४ औं मिनेटमा उडिनेसका लासंगाले एक गोल फर्काएपनि युभेन्ट्सले खेल ४-१ ले आफ्नो बनायो ।
उडिनेसविरुद्धको खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भने आराम दिइएको थियो ।
जितसंगै युभेन्ट्सले लिगमा १९ अंकको अग्रता बनाएको छ । र, उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । युभेन्ट्सले २७ खेलबाट ७५ अंक जोडेको छ ।
दोस्रो स्थानको नेपोलीको २६ खेलबाट ५६ अंक छ । उडिनेस २५ अंकसहित १५ औं स्थानमा छ ।