काठमाडौं । मनोहरा युनाइटेडले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार भएको खेलमा मनोहराले ओसिस क्लबलाई ३-२ गोलले पराजित गर्यो ।
मनोहराको जितमा दिनेश राईले २ गोल गरे ।यस्तै साइमन लिम्बुले एक गोल गरे । ओसिसका भरत गुरुङ र प्रकाश पुनले एक एक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने ओसिसले बनाएको थियो । खेलको १२ औं मिनेटमा भरतको गोलबाट ओसिसले अग्रता बनाएको थियो । खेलको ५६ औं मिनेटमा प्रकाशले गोल गर्दै ओसिसलाई २-० को अग्रता दिलाए ।
तर, खेलको ८२ औं मिनेटमा दिनेसले गोल गर्दै मनोहरालाई खेलमा फर्काए । खेलको इन्जुरी समयको पहिलो मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबारीमा ल्याए । त्यसपछि इन्जुरी समयको अन्तिम मिनेटमा साइमनले पेनाल्टीमा गोल गर्दै मनोहरालाई ३-२ को जित दिलाए ।
जितसंगै मनोहराले ३ अंक जोडेको छ ।
यस्तै दोस्रो खेलमा बिरगंज युवा क्लब र समाज कल्याण खेलकुद केन्द्रले १-१ गोलको बराबरी खेलेका छन् ।
पहिलो हाफको इन्जुरी समयमा कृपा महत्तोले गोल गर्दै बिरगंजलाई अग्रता दिलाएका थिए । तर, खेलको ६२ औं मिनेटमा सुग्रित मगरले गोल गरेपछि खेल १-१ को बराबरीमा सकियो ।