काठमाडौं । नेपालको महिला यू–१९ फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा भुटानको राष्ट्रिय टिमसंग बराबरी खेलेको छ । शुक्रबार भएको नेपाली युथ टिमले भुटानसंग १-१ गोलको बराबरी खेलेको हो ।
हल्चोकस्थित सशत्र प्रहरी बलको मैदानमा भएको खेलमा दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलमा सुरुवाती गोल भने भुटानी टिमले गरेको थियो । तर, नेपालका लागि कप्तान मनिषा राउतले बराबरी गोल फर्काइन् ।
नेपाली खेलाडीलाई डिबक्स भित्र फल गरेपछि पाएको पेनाल्टी सदुपयोग गर्दै कप्तान मनिषाले नेपाललाई हारबाट जोगाईन् ।
यसअघि बुधबार एन्फा मैदानमा भएको खेलमा सविता राना मगर र रश्मि कुमारी घिसिङले गोल गरेपछि नेपालले भुटानसँग २–२ को बराबरी खेलेको थियो ।
साफ च्याम्पियनसिपको तयारीका लागि भुटानले नेपाली टोलीसंग मैत्रीपूर्ण खेल खेलेको हो । साफ खेल्न भुटान मंगलबार नै नेपाल आईपुगेको हो ।
विराटनगरमा आयोजना हुने साफको उद्घाटन खेलमा मंगलबार भुटानले आयोजक नेपालको सामना गर्नेछ ।