एजेन्सी । अष्ट्रेलियाले पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट सिरिज खेल्ने टोलीको घोषणा गरेको छ । अष्ट्रेलियाले शुक्रबार यहिँ मार्चमा पाकिस्तानसंग खेल्ने टोलीको घोषणा गरेको हो ।
पाकिस्तानसंगको सिरिजका लागि अष्ट्रेलियन टोलीमा पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नर अटाएका छैनन् । पाकिस्तान भ्रमण गर्ने टोलीमा पर्न असफल भएसंगै स्मिथ र वार्नरको पुनरागमन अन्योलमा परेको छ ।
बल टेम्परिङको आरोपमा दुई भरपर्दा ब्याट्सम्यान स्मिथ र वार्नर एक बर्षको निलम्बनमा रहेका छन् । स्मिथ र वार्नरको फुकुवा मार्च २८ बाट हुँदैछ ।
अष्ट्रेलियाले आगामी मार्च २२ बाट पाकिस्तानसंग दुबईमा पाँच खेलको सिरिज खेल्दैछ । स्मिथ र वार्नरबिना अष्ट्रेलियाले एकदिवसीय क्रिकेटमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । त्यसैले पाकिस्तानविरुद्ध दुवैले टिममा पुनरागमन गर्ने अनुमान गरिएको थियो । तर,अष्ट्रेलियाले उक्त सिरिजका लागि दुवैलाई टिममा राखेको छैन् ।
'कुहिनोको चोटबाट स्मिथ र वार्नर मुक्त भईसकेका छन् । दुई खेलाडीले इन्डियन प्रिमिएर लिग (आइपीएल) बाट आफुलाई प्रमाणित गर्नेछन् ।' छनोट समितिका प्रमुख ट्रेभर होन्सले भनेका छन् ।
यस सिजनको आईपीएलमा वार्नर सनराइजर्स हैदराबाद र स्मिथ राजस्थान रोयल्सबाट खेल्नेछन् । अष्ट्रेलिया क्रिकेटले दुवै खेलाडीलाई विश्वकप र एसेज सिरिजमा योग्य बनाउन आईपीएल क्लबलाई सहयोग गरेको छ ।
तर, विश्वकप अघिको अन्तिम सिरिजमा नपरेपछि स्मिथ र वार्नर विश्वकप टिममा पर्ने र नपर्ने भन्नेमा अन्योलता छाएको छ ।
यस्तै अष्ट्रेलियाले निकालेको खेलाडी सूचीमा मिचेल स्टार्क परेका छैनन् । स्टार्क चोटबाट मुक्त भईसकेका छैनन् ।
अहिले अष्ट्रेलिया भारत भ्रमणमा रहेको छ । अष्ट्रेलियाले घरेलु टोलीसंगको दुई खेलको टी-ट्वान्टी सिरिजमा क्लिन स्विप गरिसकेको छ । पाँच खेलको एकदिवसीय सिरिजमा भने २-० ले पछि परेको छ ।