काठमाडौं । नेपाली फुटबलका हरेक गतिविधि डिजिटल प्रविधिमा राखिने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबलको हरेक गतिविधि प्रविधिमा लैजान शुक्रबार सम्झौता गरेको छ ।
एन्फाले प्रविधिमा काम गरिरहेको दुई कम्पनि इम्प्रुभमेन्ट कम्पनि नेपाल (आईसीएन) र मेर्सी क्रप्ससँग सम्झौता गरेको छ ।एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, मेर्सीका कन्ट्री निर्देशक सञ्जय ध्वज कार्की र आईसीएनका सीईओ रुपेश भक्त श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै अब नेपाली फुटबलका हरेक गतिविधि र तथ्यांक सफ्टवेयरको माध्यमबाट गरिने छ । अब ग्रासरुट देखि खेलाडी, रेफ्रि, प्रशिक्षक, म्याच कमिस्नार, खेलाडी ट्रान्सफर, खेलाडी दर्ता लगायतका हरेक काम सफ्टवेयरबाट गरिने छ ।
उक्त सफ्टवेयर दुई कम्पनिले निर्माण गर्नेछ । तर, सफ्टवेयर हाललाई एन्फा र सम्बन्धित क्लबले मात्रै प्रयोग गर्न पाउने छन् ।
एन्फाले फुटबलको सर्वोच्च निकाय फिफा र एसियन फुटबल महासंघ (एएफसी) को नियम अनुसार सफ्टवेयर तयार गरेको छ ।

सम्झौता अनुसार फुटबल गतिविधिको तथ्यांक राख्न आईसीएनले १० लाख बराबरको सफ्टवेयर तयार बनाउने छ । जुन सफ्टवेयरको ५० प्रतिशत खर्च मेर्सीले व्यहोर्ने छ ।
सम्झौतापछि बोल्दै एन्फा अध्यक्ष शेर्पाले अब नेपाली फुटबल आधुनिक प्रविधिमा प्रवेश गरेको बताए ।
'राम्रो कार्यको सुरुवात भएको छ । यसले अब खेलाडी रेफ्रि सबैको डाटा सहजै उपलब्ध हुनेछ । पहिलेको जस्तो खेलाडी खोज्न असहज हुनेछैन ।’ अध्यक्ष शेर्पाले भने ।
यस्तै आईसीएनका निर्देशक उपेन्द्र श्रेष्ठले नयाँ प्रविधि विकास हुनु नेपाली फुटबलको राम्रो सुरुवात भएको र यसको लागि एन्फा र कम्पनिलाई ठुलो चुनौती भएको बताए ।
‘जतिसुकै राम्रो कार्य होस् यसलाई सुरुवातमा अगाडि बढाउन ठुलो चुनौती आईपर्छ । एन्फा र हाम्रो सहकार्यले राम्रो गर्ने प्रयास गर्नेछौँ ।’ श्रेष्ठले भने ।