काठमाडौं । सामाजिक युवा क्लब र प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार भएको खेलमा सामाजिकले स्वयम्भु क्लबलाई ३-१ गोलले पराजित गर्यो ।
सामाजिकको जितमा सुरेश खत्रीले २ गोल गरे । यस्तै क्रिजल खड्काले एक गोल गरे ।
खेलको २९ औं मिनेटमा सुरेशको गोलबाट सामाजिकले अग्रता बनाएको थियो । खेलको ३४ औं मिनेटमा विजय श्रेष्ठले गोल गर्दै स्वयम्भुलाई खेलमा फर्काएका थिए ।
तर, ६७ औं मिनेटमा सुरेशले व्यक्तिगत दोस्रो गोल गर्दै सामाजिकलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा क्रिजलले गोल गर्दै सामाजिकलाई ३-१ को जित दिलाए ।
जितसंगै सामाजिकले ३ अंक जोडेको छ ।
यस्तै दोस्रो खेलमा प्लानिङले सानो गौचरण युवा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्यो । प्लानिङको जितमा सुजित गुरुङले २ गोल तथा आशिष श्रेष्ठले एक गोल गरे ।
जितसंगै प्लानिङले ३ अंक जोड्दै लिगको सुरुवात गरेको छ ।