काठमाडौं । क्यामरुनी क्लब दाउफिन्स एफसी चौंथो संस्करणको झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार भएको अन्तिम क्वाटरफाइनलमा लाली रुपन्देही-११ लाई २-० गोल अन्तरले पराजित गर्दै दाउफिन्स अन्तिम चारमा पुगेको हो ।
डोमालाल राजवंशी रंगशालामा दाउफिन्सलाई जित दिलाउन पेट्न्गा डाफिनास र मिसोउली इटिग्नेले एक एक गोल गरे ।
दाउफिन्सले खेलको ३८ औं मिनेटमा अग्रता लिएको थियो । रुपन्देहीका पेपी अडामाले दाउफिन्सका मिसोउली इटिग्नेलाई डि बक्सभित्र फाउल गरेपछि दाउफिन्सले पेनाल्टी पाएको थियो । पेनाल्टीमा दाउफिन्सका पेट्न्गाले गोल गरे ।
त्यसपछि खेलको ८७ औं मिनेटमा मैदानको मध्य भागबाट मिसोउली इटिग्नेले गरेको प्रहारले जाली चुमेसँगै दाउफिन्सले २-० को जित निकाल्यो । रुपन्देहीका गोलरक्षक अगाडी बढेको समयमा मैदानको मध्यभागबाट इटिग्नेले पोष्टमा प्रहार गरेका थिए ।
अब दाउफिन्सले फाइनल प्रवेशको लागि त्रिभुवन आर्मी क्लबसंग प्रतिस्पर्धा गर्नेछ । यसअघि भएको क्वाटरफाइनलमा एपीएफ क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगिसकेको छ ।
दाउफिन्सले मनाङ मर्स्याङ्दी क्लबको स्थानमा झापा गोल्डकप खेल्न लागेको हो । मनाङ एएफसी कपको तयारीमा लागेपछि दाउफिन्सले मौका पाएको हो ।
योसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ । यसअघि आयोजक झापा-११, त्रिभुवन आर्मी क्लब र थ्री स्टारले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।