काठमाडौं । नेपालमा दोस्रो पटक हुन लागेको युरोपियन क्लब एसी मिलानको जुनियर फुटबल क्याम्पको तयारी अन्तिम चरणमा पुगेको छ ।
आयोजक एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्टले चैत अन्तिम साता आयोजना हुने क्याम्पको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । एटलान्टिक स्पोर्ट्सका संयोजक थमन भुसालले खेलाडी दर्ता प्रक्रिया जारी रहेको र क्याम्पको लागि अन्तिम तयारी भईरहेको खेलपाटीलाई बताए ।
'अबको एक हप्तामा दर्ता भएका खेलाडीको नाम फाइनल गरेर इटाली पठाईने छ,' भुसालले खेलपाटीसंग भने,'क्याम्पको लागि तयारी जारी छ ।'
यस्तै संयोजक भुसालले क्याम्पका लागि हालसम्म ५० खेलाडीले नाम दर्ता गरिसकेको जानकारी गराए ।
क्याम्पमा ७ देखि १७ वर्षमुनिका खेलाडीहरु सहभागी हुन पाउनेछन् । क्याम्पका लागि इटालियन क्लब एसी मिलानबाट ५ प्रशिक्षकहरु नेपाल आउने छन् । तर, संयोजक भुसालले खेलाडीको नाम पठाएपछि मात्र इटालीबाट आउने प्रशिक्षकहरुको टुंगो लाग्ने बताए ।
क्याम्पमा सहभागी हुन खेलाडीले ३५ हजार शुल्क तिर्नु पर्ने हुन्छ । संयोजक भुसालले क्याम्पको लागि प्रायोजकहरु भेटिएको खण्डमा शुल्क घटाइने समेत बताए ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने क्याम्प चैत २४ देखि ३० सम्म आयोजना हुनेछ ।