एजेन्सी । भारतीय क्रिकेटर कुलदिप यादवले ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) जाँदा दुई दिनसम्म रोएको खुलासा गरेका छन् ।
स्पोर्ट्सकेडाको माइण्ड भोइसमा कुराकानी गर्दै कुलदिपले आफ्नो मन पर्ने फुटबल खेलाडी नेयमार रहेको बताउँदै बार्सिलोना छाड्दा आफु निकै दुखिद भएको बताए । यस्तै कुलदिपले नेयमार बार्सिलोना फर्किएको हेर्ने चाहना भएको समेत बताए ।
'नेयमार बार्सिलोना फर्किएको हेर्न चाहन्छु । तपाईले मेरो इन्स्टाग्रामको पोस्ट हेरेको हुनु पर्छ । नेयमार पिएसजीमा अनुबन्धन हुँदा दुई दिनसम्म रोएको थिए,' कुलदिपले भने, 'म कुनै पनि हालतमा नेयमार पीएसजी गएको हेर्न चाहान्न थिए किन कि बार्सिलोना मेरो टिम हो । त्यसैले म नेयमार बार्सिलोना मै रहेको र लियोनल मेस्सीसंग अझै धेरै रेकर्ड बनाएको हेर्न चाहान्थे ।'
यस्तै कुलदिपले नेयमारले बार्सिलोना छाडेपछि आफुले पीएसजी र बार्सिलोना दुवैलाई समर्थन गरिरहेको बताए ।
अब कुन क्लबको समर्थन गर्नु हुन्छ भनेर प्रश्नमा कुलदिपले भने,'यो प्रश्नको उत्तर दिन निकै गार्हो छ । जब नेयमार बार्सिलोनामा थिए । म बार्सिलोनालाई समर्थन गर्थे तर अहिले नेयमार पीएसजी गएपछि म दुवै क्लबलाई समर्थन गर्छु । किनकी बार्सिलोना मेरो मन पर्ने क्लब हो भने नेयमार मन पर्ने खेलाडी ।'
नेयमार दुई बर्षअघि कीर्तिमानी मुल्यमा स्पेनबाट पीएसजी गएका थिए ।