काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पुर्व कप्तान अनु लामाले अब राष्ट्रिय टिमबाट नखेल्ने बताएकी छिन् ।
घरेलु मैदानमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोलीमा पर्न असफल भएपछि पुर्व कप्तान अनुले राष्ट्रिय टोलीबाट नखेल्ने बताएकी हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले विराटनगरमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि सार्वजनिक गरेको अन्तिम २० सदस्यीय टिममा अनु पर्न सकिनन् । राष्ट्रिय टोलीमा पर्न असफल भएपछि खेलपाटीसंग कुरा गर्दै अनुले अब नेपालको जर्सी नलगाउने बताईन् ।
‘मेरो चाहना थियो, घरेलु भुमिमा सुखद् बिदाई लिने तर त्यो भएन । मेरो जुन निर्णय थियो, त्यो पुरा नहुने भएपछि अब म राष्ट्रिय टिमको कुनै पनि खेल खेल्दिन र छनोटमा जादिन,’ अनुले भनिन् ।
यस्तै अनुले देशमै आयोजना हुने प्रतियोगिता खेल्न सपना पुरा हुन नसकेको समेत बताइन् । ‘देशमै आयोजना हुने प्रतियोगिता खेल्ने मन थियो तर अधुरै रह्यो ।’ उनले थपिन् ।
पछिल्लो समय चोटका कारण अनु राष्ट्रिय टिमबाट बाहिर रहँदै आएकी थिइन् । भारतले आयोजना गरेको हिरो गोल्डकपमा टिममा रहेपनि साफबाट अनु टिम बाहिर रहन पुगिन ।
फागुन २८ बाट घरेलु भुमिमा हुने पाँचौ संस्करणको साफ च्याम्पियनसिप खेलेर अनुले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गर्ने तयारी गरेकी थिईन् ।
‘क्लोज क्याममा सत प्रतिशत दिएको हो । तर,मेरो प्रदर्शन प्रशिक्षकलाई जति चाहिने हो त्यति पुगेन त्यसैले बाहिर रहे जस्तो लाग्छ,’ टिममा नपर्नुको कारण खुलाउदै अनुले भनिन्, ‘एन्फाले देशको लागि योगदान दिने खेलाडीलाई सम्मान गर्ने भनेको सुनेको छु । सायद त्यहि दिनबाट म सन्यास लिन्छु होला ।’
राष्ट्रिय टिमबाट २४ क्याप जितेकी अनुले ३५ गोल गरेकी छिन् । सन् २००४ मा चीनमा भएको एसियन गेम्सबाट अनुले नेपालको प्रतिनिधित्व गर्दै आईरहेकी थिइन् ।
अनुले डेब्यु खेलमा उत्तर कोरियासंग खेलेकी थिईन् ।