काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्ललाई चार खेलका लागि निलम्बन गरिएको छ । धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको दोस्रो क्वालिफायर खेल बहिष्कार गरेको भन्दै टेक्निकल कमिटिले टिमका कप्तान मल्ललाई ४ खेलको निलम्बन गरेको हो ।
मैदानमा अनुपस्थित भएर खेल भावना विपरित गतिविधि गरेको भन्दै कमिटिले ज्ञानेन्द्रलाई काराबाही गरेको हो ।
डीपीएलको दोस्रो क्वालिफायर खेलमा रेफ्रीको निर्णयमा असहमती जनाउँदै काठमाडौं गोल्डेन्सले दोस्रो क्वालिफायर खेल बहिष्कार गरेको थियो ।
‘ज्ञानेन्द्रमाथिको कारबाही घरेलु क्रिकेटका लागि मात्र हो । उनीले अन्तराष्ट्रिय प्रतियोगिता भने खेल्न पाउनेछन् ।’ टेक्निकल कमिटिका एक सदस्यले खेलपाटीसंग भने ।
बलर अंकित दवासलाई आयोजकले बलिङमा प्रतिबन्ध लगाएपछि काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाईटेडसंगको दोस्रो क्वालिफायर खेल वहिष्कार गरेको थियो ।
‘मैदानमा अनुपस्थित नभएको घटनामा ४ खेलको निलम्बन गरिएको छ ।’ ज्ञानेन्द्रले खेलपाटीसंग भने, ‘अनुशासनलाई अनुशरण गर्ने खेलाडी भएका कारणले कारबाही स्विकार गर्छु ।’
‘खेलाडीलाई कारबाही गर्नुको साथै टिम नखेल्ने बातावरण कसरी सिर्जना भयो भन्ने बिषय बाहिर आएको भए राम्रो हुने थियो ।’ उनले भने ।
पछिल्लो कारबाहीसंगै ज्ञानेन्द्रले घरेलु क्रिकेटमा चार टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न पाउने छैनन् ।