एजेन्सी । भारतीय क्रिकेटर केदार जादबले टिम मेट महेन्द्र सिंह धोनीसंग क्रिजमा रहदा आफुलाई ब्याटिङ गर्न आत्मविश्वास बढ्ने बताएका छन् ।
घरेलु मैदानमा अष्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिज खेलिरहेका अलराउण्डर जादबले पुर्व कप्तान समेत रहेका धोनीको प्रसंसा गर्दै धोनीबाट आफुले धेरै सिक्ने गरेको बताएका छन् ।
'जब म धोनीसंग ब्याटिङमा हुन्छु म धेरै समय उसंगै क्रिजमा रहन चाहन्छु ताकी म धेरै सिक्न सकुँ । म शब्दमा बताउन सक्दिन । जब म धोनीलाई देख्छु । मेरो आत्मविश्वास बढ्छ,' जादबले भने,'त्यो एक प्रकारको गौरव हो । उहाँलाई देखेपछि म केहि गर्न सक्छु भन्ने दिमागमा आउछ । उहाँसंग हरेक खेलाडीबाट राम्रो नतिजा निकाल्ने क्षमता छ जुन सबैलाई मन पर्छ ।'
भारतले विश्वकपअघि अष्ट्रेलियासंग एकदिवसीय सिरिज खेलिरहेको छ । र, पाँच खेलको सिरिजमा भारतले २-० को अग्रता बनाएको छ ।
अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा ६ विकेटको जित निकाल्दा जादब र धोनीले उत्कृष्ट ब्याटिङ गरेका थिए । उक्त खेलमा धोनीसंग मिलेर जादबले १४१ रनको साझेदारी गर्दै भारतलाई जित दिलाएका थिए । खेलमा जादब ८१ रनमा अविजित रहदा धोनीले अविजित ५९ रनको योगदान दिएका थिए ।
यस्तै जादबले धोनी क्रिजमा रहदा जुनै टिमलाई समेत दबाब पर्ने बताए ।
'हामी दुई मध्ये एकले बलरविरुद्ध जोखिम उठाउने गर्छौं । म खुलेर खेल्ने गर्छु । जब म ब्याटिङमा हुन्छु मलाई नयाँ सटहरु प्रहार गर्न मन लाग्छ,' धोनीबारे बोल्दै जादबले भने, 'तर, धोनी भने आफ्नै प्राकृतिक तरिकाले - बल हावामा नउडाइकन खेल्ने गर्छन । जब सम्म उनि मैदानमा हुन्छन् जोकोही टिमलाई पनि दबाव महसुस हुन्छ ।'
त्यस्तै जादबले टिमलाई आवश्यक पर्दा आफुले बलिङ गर्न पछि नहट्ने दाबी गरे ।