एजेन्सी । पाहुना टोली श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकाले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई ११३ रनले हराएको हो ।
सेञ्चुरियनमा दक्षिण अफ्रीकाले दिएको २५१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ३२ ओभर २ बलमा अलआउट हुँदै १३८ रनमा समेटियो । श्रीलंकाका लागि ओशाडा फर्नान्डोले सर्वाधिक ३१ रन जोड्दा कुशल मेन्डिसले २४ रन बनाए ।
थिसरा परेरा २३ रनमा आउट भए । श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रीकाका कागीसो राबडाले ३ विकेट लिए । यस्तै लुंगी नेग्दि, एन्रिच नोर्त्जे र इमरान ताहिरले २/२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ४५ ओभर १ बलमा अलआउट हुँदै २५० रन बनाएको थियो ।
दक्षिण अफ्रीकाको जितमा क्विनटन डी ककले ९४ रनको योगदान दिए । यस्तै कप्तान फाप डु प्लेसिसले ५७ रन बनाउदा रिजा हेनड्रिक्सले २९ रन बनाए ।
श्रीलंकाका थिसरा परेराले ३ तथा धनन्जय डी सिल्भा र लाथिस मालिंगाले २/२ विकेट लिए ।
यो जितसंगै दक्षिण अफ्रीकाले ५ खेलको एकदिवसीय सिरिजमा २-० को अग्रता बनाएको छ ।