पोखरा। प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा छनोट अन्तर्गत पुरुष फुटबलको उपाधि लमजुङले जितेको छ ।
बुधबार भएको फाइनलमा लमजुङले गार्खालाई ६–१ गोल अन्तरले हराएर स्वर्ण पदक जितेको हो । लमजुङलाई जिताउन मनिष क्षेत्री, प्रदिप गुरुङ, अनन्त दुरा, लिलजङ तामाङ, घनश्याम तामाङ र बिक्रम गुरुङले गोल गरे । यता तनहुँका लागि एक मात्र सान्त्वान गोल बिशाल गुरुङले गरे ।
यता काश्य पदकका लागि भएको खेलमा तनहुँले बागलुङलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । तनहुँको जितका लागि सचिन थापाले ह्याट्रिक पुरा गरेका थिए ।
गण्डकी प्रदेशको छनोट अन्तर्गत महिला तथा पुरुष भलिबलको छनोट सुरु भएको छ । छनोट खेलमा पुरुषतर्फ ११ जिल्ला र महिला तर्फ ९ जिल्ला सहभागि रहेको पश्चिमाञ्चल खेलकुद कार्यालयका नासु डिबी नेपालीले जानकारी दिए ।
पुरुषको छनोटमा बुधबार पर्वतले मनाङलाई २५–१८,२२–२५ र २५–१९ ले पराजित गरेको छ भने बागलुङले लमजुङलाई २५–१७ र १७–१५ ले, स्याङजाले लमजुङलाई २५–२३, २५–१५ ले, नवलपुरले मुस्ताङलाई २५–१९, २५–१३ ले पराजित गरेको छ । त्यस्तै अन्य पुरुष तर्फको खेलमा पर्वत, म्याग्दी, स्याङजा र नवलपुर बिजयी भएका छन् ।
यता महिला तर्फको खेलमा म्याग्दी, कास्की, पर्वत, मुस्ताङ र बागलुङले आ–आफ्नो खेल जितेका छन् ।
बास्केटबल छनोट अन्तर्गत बुधबार पुरुषमा ४ खेल भएको छ । जसमा म्याग्दीले दुई खेल जितेको छ । म्याग्दीले कास्की र बागलुङलाई पराजित गरेको हो । म्याग्दीले खेलेको दुई खेलमा पर्वतलाई ३६–३४ र बागलुङलाई ६२–३५ को स्कोरले पराजित गरेको छ ।
यसै गरि अन्य खेलमा नवलपुर ले मुस्ताङलाई ६१–५३ र लमजुङले तनहुँलाई ४९–४० र पर्वतले स्याङजालाई ६३–४९ को स्कोरले पराजित गरेका छन् । महिलातर्फ भने जम्मा दुई जिल्ला सहभागी छन् ।