काठमाडौं । सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले अन्तराष्ट्रिय खेल सामाग्री कम्पनी केल्मीसंग तीन बर्षको प्रायोजन सम्झौता गरेको छ । ए डिभिजन लिगको विजेता समेत रहेको मनाङले आधिकारित जर्सीको रुपमा केल्मीसंग प्रायोजन सम्झौता गरेको हो ।
सहमतीसंगै मनाङले राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगितामा केल्मीको जर्सी लगाएर खेल्नेछ । मनाङलाई आवश्यक पर्ने सम्पुर्ण खेल सामाग्री केल्मी नेपालले उपलब्ध गराउनेछ ।
बुधबार एक कार्यक्रमकाबीच मनाङका नवनिर्वाचित अध्यक्ष छिमि उर्गेन गुरुङ र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
‘हरेक बर्ष पुनरावलोकन हुने गरि मनाङसंग तीन बर्षको सम्झौता भएको छ ।’ केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले खेलपाटीसंग भने, ‘क्लबलाई आवश्यक पर्ने जर्सीको डिजाईन अब केल्मीले गर्नेछ ।’
मनाङले आसन्न एएफसी कपमा केल्मीको आधिकारिक जर्सी लगाएर खेल्नेछ ।
सम्झौता अनुसार मनाङले होम र अवे खेलमा लगाउने जर्सीको डिजाईन केल्मीले गर्नेछ । त्यसका साथै अभ्यासका क्रममा खेलाडी र क्लब अफिसियलले लगाउने सामाग्री समेत केल्मीले उपलब्ध गराउनेछ ।
मनाङले यसअघि विभिन्न ब्राण्डका जर्सीमा प्रतियोगिता खेल्दै आएको थियो । नेपालको राष्ट्रिय फुटबल टिमलाई आधिकारिक प्रायोजन गरेको केल्मी अब घरेलु फुटबलको लोकप्रिय क्लब मनाङसंग समेत गाँसिएको छ ।