काठमाडौं । रुस्लान थ्री स्टार क्लब चौंथो संस्करणको झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको क्वाटरफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ३-० गोल अन्तरले पराजित गर्दै थ्री स्टार प्रतियोगिताको अन्तिम चारमा पुगेको हो ।
डोमालाल राजवंशी रंगशालामा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा थ्री स्टार सफल भयो ।
पेनाल्टी सुटआउटमा थ्री स्टारका विजय धिमाल, बुद्ध चेम्जोङ र रुपेश केसीले गोल गरे । बिक्रम लामाको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाउ गरेका थिए ।
पुलिसका अजित भण्डारी र भरत शाहको प्रहार थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले बचाएका थिए । रबी पासवानको प्रहार आकाशिएको थियो ।
अब थ्री स्टारले फाइनल प्रवेशको लागि झापा-११ संग प्रतिस्पर्धा गर्नेछ । झापाले नेप्लिज एकेडमी हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।