काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा खेलाडी रोहित कुमार पौडेल र आरिफ शेख नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको 'ब्राण्ड एम्बासडर' नियुक्त भएका छन् ।
बैंकले रोहित र आरिफलाई २ बर्षको लागि 'ब्राण्ड एम्बासडर' चयन गरेको हो । बैंकले बुधबार दुई युवा खेलाडी रोहित र आरिफसंग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतासंगै बैंकले दुई युवा खेलाडीलाई २ बर्षसम्म मासिक २५ हजार नगद उपलब्ध गराउने छ ।
रोहित र आरिफ नेपाली टोलीका महत्वपूर्ण सदस्य हुन् । दुवै खेलाडीले नेपाली टोलीबाट एकदिवसीय अन्तराष्ट्रिय र टी-ट्वान्टी अन्तराष्ट्रिय खेलिसकेका छन् ।
ब्राण्ड एम्बासडर नियुक्त भएपछि बोल्दै आरिफले लोकप्रिय बैंकसंग जोडिन पाउदा खुसी लागेको बताए ।
'हामीलाई विश्वास गर्नु भएकोमा धन्यवाद । लोकप्रिय बैंकसंग जोडिन पाउँदा खुसी लागेको छ,' आरिफले भने, 'यसले अन्य खेलाडीलाई समेत खेल्नका लागि हौसला मिल्ने छ ।'
यस्तै रोहितले ब्राण्ड एम्बासडर नियुक्त गरेकोमा बैंकलाई धन्यवाद दिए ।
बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उदयमान खेलाडीलाई बैंकसंग आबद्द गराउन पाउँदा खुसी लागेको बताए ।