एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेड र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी प्रतिस्पर्धा गर्दैछ ।
पीएसजीको घरेलु मैदानमा उत्रदै गर्दा युनाईटेड अप्रत्यासित नतिजा निकाल्ने दाउमा हुनेछ । पीएसजीविरुद्व उत्रदै गर्दा सम्भावनाका सबै ढोका खुला रहने युनाईटेडका प्रशिक्षक आले गुनर सोल्सायर बताउँछन् ।
युनाईटेडले घरेलु मैदानमा भएको खेल २–० ले गुमाएको थियो । अब नकआउट चरणमा अगाडी बढ्न युनाईटेडलाई दुई वा सो भन्दा बढी गोल अन्तरको जित निकाल्न आवश्यक छ ।
‘खेलमा फर्कने कुनैपनि बेला समय हुनेछ । यही हामीले पहिलो गोल गर्न सक्यौ भने जे पनि हुनेछ ।’ सोल्सायर भन्छन् ।
‘फुटबल प्राविधिक र रणनीतिक खेल हो । र यो मानसिक खेल समेत हो । यदी हामी पहिलो गोलमा सफल भएमा हामीमा आत्मविश्वास भरिनेछ । त्यसपछि खेलमा पुनरागमन हुन सक्नेछ ।’ उनले थपे ।
‘यो असम्भव भन्ने छैन । यो गाह्रो भने छ ।’ सोल्सायर भन्छन् ।
‘सबैलाई थाहा छ, हामी गर्न सक्छौ । च्याम्पियन्स लिगका पछिल्ला केही बर्षलाई हेर्ने हो भने प्रसस्त उदाहरण हामीले भनेका छौ । जसले नतिजालाई परिवर्तन गरेको छ ।’ उनले थपे ।
सोल्सायरले डिसेम्बरमा क्लबको नेतृत्व गरेपछि १६ खेलमा १३ मा जित निकालेका छन् ।
पेरिस उत्रदै गर्दा सोल्सायरसंग एलेक्सेज साञ्चेज र पाउल पोग्बा रहने छैनन । पोग्बा निलम्बनमा छन्, सान्चेज करिब ६ हप्ता मैदान बस्नपर्ने स्थिती छ ।
फिल जोन्सलाई ज्वरोले सताएको छ । एन्थोनी मार्टियल, जिसेस लिङगार्ड, जुआन माटा, आन्द्रे हेरेरा, नेमान्जा माटिस लगायतका अधिकांश खेलाडी चोटबाट पिरोलिएका छन् ।
टिमका अधिकांश खेलाडी घाईते भएका कारणले सुरुवाती प्लेईङ सेट निकाल्न प्रशिक्षक सोल्सायरलाई समस्या पर्नेछ ।
पीएसजी भने आत्मविश्वासले भरिएको छ । मुख्य खेलाडी बिनै पहिलो लेगमा निकालेको २–० को नतिजाले उसलाई ठुलो राहत दिएको छ । चोटका कारण नेयमार हुने छैनन् तर पछिल्लो समय निकै फर्ममा रहेका केलियन एम्बाप्पेले युनाईटेडलाई संकटमा पार्न सक्नेछन् ।