काठमाडौं । मनाङ मस्र्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङले पुनरागमन गरेका छन् । घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङले मुख्य प्रशिक्षकमा छिरिङलाई नियुक्त गरेको हो ।
क्लबसंगको अनुबन्धनको समय र पारिश्रमिक लगायतका विविध बिषय टुङ्गो लाग्न बाँकीनै छ ।
क्लबको व्यवस्थापकमा नयाँ नेतृत्व आएपछि छिरिङले मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । छिरिङको नामलाई समावेश गर्दै मनाङले एएफसी कपका लागि खेलाडीको प्रारम्भिक सुचि पठाएको छ । सहिद स्मारक ए डिभिजन लिगमा सहभागि अधिकांश खेलाडीले एएफसी कप खेल्नेछन् ।
विभिन्न क्लबबाट खेलाडी ऋणमा लिएर नाम पठाउने प्रयास भईरहेको भन्दै मनाङले खेलाडीको अन्तिम नामावली टुङ्गो लाग्न केही समय लाग्ने बताएको छ ।
को हुन छिरिङ ?
मनाङ जन्म घर भएका छिरिङ लोप्साङ घरेलु फुटबलमा परिचित नाम हो । उनकै नेतृत्वमा मनाङले सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । लामो समय मनाङको प्रशिक्षकको जिम्मेवारीमा रहेका छिरिङले उमेर समुहको राष्ट्रिय टिमको समेत नेतृत्व गरेका छन् ।
उनकै नेतृत्वमा यु–१९ टिमले भुटानमा भएको साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । अर्पण कार्की कप्तानीको टिमलाई उमेर समुहमा च्याम्पियन बनाउन छिरिङ सफल भएका थिए ।
करिब पाँच बर्ष पछाडी घरेलु फुटबलमा फर्किएको लिगमा मनाङको नेतृत्व सुमन श्रेष्ठले गरेका थिए । तर टिमको पछाडी रहेर अफ्रिकन प्रशिक्षक तोपे फुजाले क्लबको रणनीति तयार गरेका थिए ।
मनाङ क्लबको व्यवस्थापनमा भर्खरै मात्र परिवर्तन आएको छ । प्रत्येक २ बर्षमा परिवर्तन हुने नेतृत्व अनुसार क्लबको अध्यक्ष छिमि उर्गेन गुरुङ चयन भएका छन् । क्लबको नेतृत्वमा छिमिको पुनरागमनसंगै छिरिङले मनाङको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । उनी नेपालबाट एएफसीको ए लाईसेन्स प्राप्त गर्ने पहिलो ब्याचका प्रशिक्षक समेत हुन् ।
‘आफ्नै समुदायको प्रशिक्षक र त्यसमा समेत क्लबमा लामो समय योगदान गरेका छिरिङलाई नयाँ नेतृत्वले मौका दिएको हो ।’ क्लब स्रोतले खेलपाटीसंग भन्यो ।