काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबल आजबाट (बुधबार) सुरु हुँदैछ । 'सी' डिभिजन लिगको पहिलो दिन दुई खेल हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेलमा खालीबारी युवा क्लब र समाज कल्याण खेलकुद केन्द्रले प्रतिस्पर्धा गर्नेछन् । खालीबारी र समाज कल्याणबीचको खेल अपरान्ह १२:४५ बजे सुरु हुनेछ ।
दुवै टोली जित निकाल्दै लिगमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।
यस्तै अर्को खेलमा महाबिर स्टडीज एण्ड एथलेटिक्स एसोसियसन र सानेपा क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल ३:४५ मा सुरु हुनेछ ।
एन्फाले 'बी' डिभिजन लिग सकिए लगत्तै 'सी' डिभिजन लिग गर्न लागेको हो ।
'सी' डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्ने छन् । ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
लिग चरणको खेलपछि समूहका शीर्ष दुई टोली दोस्रो चरण सुपर लिगमा प्रवेश गर्नेछन् । शीर्ष ४ टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिनेछ ।
यस पटक 'सी' डिभिजन लिगमा घटुवा र बढुवा हुने छैन ।