काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको आठौं खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम लाहोर क्यालेण्डर्स पराजित भएको छ ।
मंगलबार भएको खेलमा लाहोर पेशावर जाल्मीसंग ४ विकेटले पराजित भएको हो ।
दुबईको अबुधाबीमा लाहोरले दिएको १२५ रनको लक्ष्य पेशावरले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
पेशावरको जितमा मिस्बाह उल हकले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै डारेन शामीले ४६ रन बनाए ।
लाहोरका साहिन साह अफ्रिदीले ३ विकेट लिए । पेशावरविरुद्ध सन्दीप विकेट विहीन बने । सन्दीपले २ ओभर १ बलमा २२ रन खर्चिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लाहोरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १२४ रन बनाएको थियो ।
लाहोरका हरिस सोहिलले ४३ रन जोड्दा डेभिड विसेले अविजित २६ रन बनाए । उमार मोसुदले २२ तथा कप्तान फखर जमानले ११ रन बनाए ।
सन्दीप लामिछाने सुन्य रनमा अविजित रहे। पेशावरका सोलोमन मिल्सले ३ तथा समिन गुलले २ विकेट लिए ।
जितसंगै ८ खेलमा ६ जित निकालेको पेशावर १२ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
८ खेलमा ३ जित हात पारेको लाहोर ६ अंक सहित पाँचौ स्थानमा रहेको छ ।