काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले 'बर्ष क्रिकेट खेलाडी' अवार्ड जितेका छन् ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गरेको 'एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड' मा सन्दीप उत्कृष्ट चुनिदै 'बर्ष क्रिकेट खेलाडी' घोषित भएका हुन् ।
यस अवार्ड जित्ने क्रममा लेग स्पिनर सन्दीपले कप्तान पारस खड्का, दिपेन्द्र सिंह ऐरी,करण केसी र सोमपाल कामीलाई पछि पारे ।
बर्ष क्रिकेट खेलाडी अवार्डसंगै सन्दीपले नगद १ लाख ३२ हजार प्राप्त गरेका छन् ।
सन्दीप अहिले पाकिस्तान सुपर लिगका लागि दुबईमा रहेका छन् । उनको यस अवार्ड कप्तान पारसलाई प्रदान गरिएको थियो ।
नेपाली क्रिकेटको ग्लोबल आईकन सन्दीपले विश्व क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोली र टी-ट्वान्टी फ्रेन्चाइज लिगमा उनको प्रदर्शन उच्च रहेको छ ।
सन्दीप अन्तराष्ट्रिय फ्रेन्चाईज क्रिकेट प्रतियोगिता खेल्ने पहिलो नेपाली खेलाडी हुन् । १० महिना अघि भारतको इण्डियन प्रिमिएर लिग (आईपीएल) बाट ठुला टी-ट्वान्टी क्रिकेटमा डेब्यु गरेका सन्दीपले नाम चलेका ठुला प्रतियोगितामा कमाल देखाईसकेका छन् ।
तीन बर्षअघि नेपाली टोलीमा डेब्यु गरेका सन्दीपले आईपीएलपछि क्यारिबियन प्रिमिएर लिग (सिपिएल) मा सेन्ट किट्स एण्ड नेविज प्याट्रियट्स, बिग बास लिगमा मेलबर्न स्टार्स, क्यानाडाको ग्लोबल टी-ट्वान्टीमा मोन्टेरिएल टाइगर्स, अफगानिस्तानको प्रिमियर लिगमा नाङर लियोपार्ड्स, बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट आफ्नो प्रतिभा देखाइसकेका छन् ।
सन्दीप अहिले भारत, पाकिस्तान, अष्ट्रेलिया, क्यानाडा, हङकङ, युएई र वेष्ट इण्डिज जस्ता ठुला देशको टी-ट्वान्टी क्रिकेटका अभिन्न अंग बनिसकेका छन् ।
महिलातर्फको बर्ष खेलाडी अवार्ड राष्ट्रिय टोलीका सदस्य सिता राना मगरले हात पारिन । अवार्डसगै सिताले ६६ हजार नगद पुरस्कार प्राप्त गरिन ।
बर्ष महिला क्रिकेट खेलाडी जित्ने क्रममा सिताले नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, इन्दु बर्मा, करुणा भण्डारी र सरिता मगरलाई पछि पारिन् ।
उदयमान क्रिकेट खेलाडीको अवार्ड नेपाली टोलीका सदस्य रोहित कुमार पौडेलले प्राप्त गरे । रोहितले गत महिना युएईसंगको एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका कीर्तिमानी प्रदर्शन गरेका थिए । अवार्डसगै रोहितले ६६ हजार नगद पुरस्कार प्राप्त गरे ।
यस्तै नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसीले बर्षको उत्कृष्ट क्षण अवार्ड जितेका छन् । मनोनयनमा परेको १० क्षणहरु मध्ये सर्वाधिक मत प्राप्त गर्दै करण बर्षको उत्कृष्ट क्षण घोषित भएका हुन् । बर्षको उत्कृष्ट क्षण अवार्डसगै करणले ६६ हजार नगद पुरस्कार पाए ।
यस्तै पुर्व क्रिकेटर कोमल बहादुर पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । नेपाली क्रिकेटको विकासमा योगदान पुर्याएको भन्दै पाण्डेलाई अवार्ड प्रदान गरिएको हो ।