काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित कुमार पौडेल बर्षको उदयमान क्रिकेट खेलाडी घोषित भएका छन् ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आयोजना गरेको 'एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड' मा रोहित उदयमान खेलाडी घोषित भएका हुन् ।
अवार्डसगै रोहितले ६६ हजार नगद पुरस्कार पाएका छन् ।
उदयमान क्रिकेट खेलाडी अवार्ड जित्ने क्रममा रोहितले अविनाश बोहरा,कविता कुँवर, ललित नारायण राजवंशी र सन्दीप जोरालाई पछि पारे ।
नवलपरासीका १६ बर्षीय युवा ब्याट्सम्यान रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने विश्वकै चौथो कान्छा खेलाडी हुन् ।
रोहितले गत महिना युएईसंगको एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका कीर्तिमानी प्रदर्शन गरेका थिए ।
युएईसंगको दोस्रो एकदिवसीयमा अर्धशतक प्रहार गर्दै रोहितले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने संसारकै कान्छा खेलाडीको कीर्तिमान बनाउन सफल भएका थिए ।
रोहितले उक्त खेलमा ५५ रन जोड्दै भारतका लिजेण्ड सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको कीर्तिमान तोडेका थिए ।