एजेन्सी । पुर्व अलराउण्डर ड्वेन ब्राभोले आईसीसी विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
वेष्ट इण्डिजले पछिल्लो समय गरिरहेको प्रदर्शनबाट प्रभावित भएको बताउदै ब्राभोले विश्वकपमा वेष्ट इण्डिज सबै देशको लागि खतरनाक हुने बताए ।
आईसीसी विश्वकप क्रिकेट यसै बर्षको मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुँदैछ । विश्वकपको तयारी स्वरुप वेष्ट इण्डिजले हालै शीर्ष वरीयताको टिम इंग्ल्यान्डसंग पाँच खेलको सिरिज खेलेको थियो । उक्त सिरिज २-२ को बराबरीमा सकिएको थियो ।
वेष्ट इण्डिज आईसीसीको वरियताको नवौं स्थानमा छ । त्यसअघिको टेष्ट सिरिज भने वेष्ट इण्डिजले २-१ ले हात पारेको थियो ।
'हामीसँग केही राम्रो युवा खेलाडीहरू छन् जसको सुधार र विकास राम्रोसंग भएको छ र एकदिवसीयको उत्कृष्ट टिमसंग यस्तो प्रदर्शन गर्दा रमाइलो लाग्छ ।' गत बर्षको अक्टोबरबाट सन्यास लिईसकेका ब्राभोले भने, 'मैले कप्तान जेसन होल्डर लगायत अन्य खेलाडीसंग कुरा गरेको छु र म विश्वाश राख्छु कि विश्वकपमा हाम्रो टिम अरु राष्ट्रका लागि खतरा बन्नेछ । मलाई विश्वास छ वेष्ट इण्डिजमा अनुभवी र युवा खेलाडीहरूको मिश्रण छ ।'
इंग्ल्यान्डविरुद्धको सिरिजमा कप्तान जेसन होल्डर, डरेन ब्राभो र विश्वकपपछि सन्यासको घोषणा गरिसकेका क्रिस गेलले उत्कृष्ट प्रदर्शन रहेका थिए । यस्तै शाइ होप, सिम्रन हिट्माएर र ओसाने थोमस लगायतका खेलाडीको प्रदर्शन उच्च रहेको थियो ।
ब्राभोले टिममा रहेका सबै खेलाडीहरुले आ-आफ्नो क्षेत्रबाट उच्च प्रदर्शन गरेको र यहिँ प्रदर्शनले विश्वकपमा वेष्ट इण्डिजले सबैलाई मात दिनेमा विश्वस्त रहेको बताए ।
डिजे ब्राभोले परिचित ब्राभो अहिले टी-ट्वान्टी क्रिकेटको फ्रेन्चाइज लिगमा व्यस्त रहेका छन् । ब्राभोले वेष्ट इण्डिजबाट २ पटक टी-ट्वान्टी विश्वकप उचालेका थिए ।
यस्तै ब्राभोले आफुले क्रिकेट खेल्नु बाल्यकालको सपना समेत रहेको बताएका छन् ।
'म यस खेलका लागि नै जन्मिएका हुन् । जुन मैले बच्चादेखि नै खेल्न थाले,' ब्राभोले भने, 'क्रिकेट खेल्नु मेरो बाल्यकालको सपना थियो । म निकै खुसी छु । म खेलिरहदा शुभचिन्तक र समर्थक आउनुहुन्छ र आनन्द लिनु हुन्छ ।'