काठमाडौं । रानीपोखरी कर्नर टिम (आरसीटी) ले सहिद स्मारक 'बी' डिभिजन लिगको उपाधि जितेको छ ।
मंगलबार भएको सुपर लिगको अन्तिम खेलमा श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि चुमेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आरसीटीलाई जित दिलाउन लोकेन्द्र बहादुर कार्कीले निर्णायक गोल गरे ।
खेलको २५ औं मिनेटमा लोकेन्द्रले हेड गोल गरेका थिए । उनले उनम बुढाथोकीको कर्नरको सदुपयोग गरे ।
उपाधिसंगै आरसीटीले ८ लाख नगद प्राप्त गरेको छ । उपविजेता श्री भगवतीले ५ लाख प्राप्त गर्यो ।
उपाधि चुम्ने क्रममा आरसीटीले सुपर लिगमा ९ अंक जोड्यो । श्री भगवतीले ६ अंक जोडेर उपविजेता बन्यो ।
'बी' डिभिजन च्याम्पियन भएपनि आरसीटी 'ए' डिभिजनमा बढुवा भएको छैन । एन्फाले 'बी' लिग रेलिगेशन बिनाको गराएको हो ।
सुपर लिगमा ३ अंक जोडेको टुसाल युथ क्लबले तेस्रो स्थान हासिल गरेको छ ।