एजेन्सी । व्यवसायिक फुटबलका लागि प्रशिक्षण तथा ट्रायल दिन बेल्जियम पुगेका राष्ट्रिय फुटलब टिमका स्ट्राईकर बिमल घर्तिमगर स्वदेश फर्किएका छन् । बेल्जियमको क्लबमा करिब तीन महिना बिताएका बिमल नेपाल फर्किएका हुन् ।
बेल्जियममा रहदाँ उनले तेस्रो डिभिजनको क्लब लिएर्स केम्पेजजोनेनमा प्रशिक्षण गरेका थिए । उनले त्यहाँ केही अभ्यास खेल समेत खेलेका थिए । तर बेल्जियममा विमलको भविष्यको टुङ्गो लाग्न भने सकेन ।
‘अभ्यास निकै राम्रो भयो । क्लबमा अभ्यास गरे, ट्रेनिङ पनि गरे । तर अहिले अफ सिजन भएर फर्किएको छु ।’ उनले खेलपाटीसंग भने, ‘बेल्जियमबाट खेल्ने बिषयमा भने केही टुङ्गो लागेको छैन, सबै कुरा एजेण्टमा भर पर्नेछ ।’
बिमल ट्रायकालागि भन्दै गत मंसिर १९ गते बेल्जियम गएका थिए । करिब दुई बर्ष अघि पनि उनी व्यवसायिक फुटबल खेल्ने प्रयास स्वरुप बेल्जियम पुगेका थिए ।
उमेर समुहको प्रतियोगिताबाट घरेलु फुटबलमा ठुलो स्टारको रुपमा उदाएका उनी युरोपमा खेल्न प्रयासरत छन् ।
सहिद स्मारक ए डिभजिन लिगको दौरान च्यासल युथसंग सम्झौता रद्व गर्दै उनी ट्रायलका लागि बेल्जियम उडेका थिए ।
‘च्यासलसंगको सम्झौता सकिएको छ । बाहिर जाने वा यही खेल्ने भन्ने बिषय एजेण्टमा भर पर्नेछ । तत्काल कुनै निर्णय गरेको छैन ।’ उनले खेलपाटीसंग भने ।
बेल्जियमबाट नेपाल फर्किएका उनले सोमबारबाटै उमेर समुहको राष्ट्रिय टोलीमा अभ्यास सूरु गरेका छन् । नेपालले एएफसी यु–२३ च्याम्पियनसिप छनोट खेल्दैछ ।
प्रतियोगिताको तयारी स्वरुप नेपालले अहिले एन्फा कम्प्लेक्स सातदोबाटोमा ट्रेनिङ गरिरहेको छ ।