काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) को आयोजनामा 'एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड' कार्यक्रम आज (मंगलबार) हुँदैछ । दिउँसाे साँढे १ बजे हुने कार्यक्रममा पाँच विधामा अवार्ड प्रदान गरिने छ ।
पहिलो संस्करणको अवार्डमा बर्ष पुरुष क्रिकेट खेलाडी, बर्ष महिला क्रिकेट खेलाडी,उदयमान क्रिकेट खेलाडी, बर्षको उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट विधामा अवार्ड प्रदान गरिने छ ।
सिप्यानले चार विधाका लागि मनोनयमा पर्ने खेलाडीको नाम सार्वजनिक गरिसकेको छ । सिप्यानले एक प्राविधिक समिति गठन गरेर मनोनयनमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको हो ।
बर्ष पुरुष क्रिकेट खेलाडी अवार्डका लागि राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित दिपेन्द्र सिंह ऐरी,करण केसी,सन्दीप लामिछाने र सोमपाल कामी मनोनयनमा परेका छन् ।
यस्तै महिलातर्फ नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, इन्दु बर्मा, करुणा भण्डारी,सरिता मगर र सिता राना मगर मनोनयनमा परेकी छिन् ।
उदयमान क्रिकेट खेलाडीतर्फ अविनाश बोहरा,कविता कुँवर, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल र सन्दीप जोरा रहेका छन् ।
यस्तै बर्षको उत्कृष्ट क्षण अवार्डका लागि १० क्षणको सूची सार्वजनिक गरिसकेको छ । सिप्यानले लाइफटाइम्स अचिभमेन्ट अवार्ड भने मनोनयनबिना एक जनालाई प्रदान गर्नेछ ।
बर्ष क्रिकेट खेलाडी पुरुषले अवार्डसंगै नगद १ लाख ३२ हजार प्राप्त गर्दा अन्य चार विधाका विजेताले समान ६६ हजार नगद पुरस्कार पाउनेछन् ।