काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम लाहोर क्यालेण्डर्सले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको आठौं खेलमा आज (मंगलबार) पेशावर जाल्मीसंग प्रतिस्पर्धा गर्दैछ ।
दुबईको अबुधाबीमा हुने लाहोर र पेशावरबीचको खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
७ खेलमा ५ जित हात परेको पेशावर १० अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । ७ खेलमा ३ जित हात पारेको लाहोर ६ अंक सहित चौथो स्थानमा रहेको छ । प्ले अफमा स्थान बनाउन लाहोरलाई पेशावरविरुद्ध जित अत्यावश्यक रहेको छ ।
पेशावरविरुद्ध सन्दीप प्लेईङ सेटमा पर्ने पक्का जस्तै छ । पीएसएलमा खेलेका सबै खेलमा सन्दीपले किफायती बलिङ गरेका छन् ।
सुरुवाती ३ खेल गुमाएका सन्दीपले पछिल्लो ४ खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले पीएसएलमा ४ खेल खेल्दै १० विकेट हात पारीसकेका छन् ।
सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीको चौथो स्थानमा रहेका छन् । सन्दीप पीएसएलमा सबै भन्दा कम इकोनमी भएका बलर समेत हुन् ।
हेड टु हेड :
पछिल्लो ५ खेलमा लाहोरविरुद्ध पेशावर हाबी देखिन्छ । सन् २०१६ देखि लाहोरले पेशावरविरुद्ध कुनै जित निकाल्न सकेको छैन । पछिल्लो पाँच खेलमा लाहोरले पेशावरलाई हराउन सकेको छैन ।