रुपन्देही । आठौं राष्ट्रिय खेलकुदको छनोट अन्तर्गत प्रदेश नम्बर ५ स्तरीय टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा नवलपरासी पश्चिमले बिजयी सुरुवात गरेको छ ।
प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदका लागि सोमबारबाट भैरहवामा सुरु भएको अन्तरजिल्ला खेलमा नवलपरासीले बर्दियालाई ८ विकेटले पराजित गर्यो ।
सिद्धार्थ रंगशालामा भएको खेलमा जितका लागि बर्दियाबाट पाएको १०३ रनको लक्ष्य नवलपरासीले १३ ओभर ३ बलमा २ विकेट क्षतिमा पूरा गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । नवलपरासी पश्चिमको जितमा सद्दाम अली अन्सारीले ३२ (नटआउट), विनोद कुर्मीले २८ तथा जितेन्द्र साहनीले २३ (नटआउट) रन बनाए । बलिङमा बर्दियाका समिर आचार्यले २ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बर्दियाले २० ओभरको खेलमा ९ विकेट गुमाई १०२ रन बनाएको थियो ।
जसमा समिर आचार्यले १८, हर्षल भण्डारीले १७ र प्रकाश न्यौपानेले १६ रन बनाएका थिए । नवलपरासीका एकलाख अहम्मदले ४ ओभर बलिङ गर्दै ९ रन खर्चेर ४ विकेट लिए । एकलाख खेलका ‘म्यान अफ द म्याच’ समेत बने । त्यसैगरी दिलिप कुर्मीले २ विकेट लिए ।
मंगलबार पहिलो खेल रुपन्देही र रोल्पा तथा दोस्रो खेल बाँके र अर्घाखाँचीबीच हुने प्रतियोगिता ब्यबस्थापन गरेको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।
प्रतियोगितामा १२ जिल्ला रहेको प्रदेश ५ अन्तर्गत प्यूठान र रुकुम पुर्ब बाहेकका रुपन्देही, नवलपरासी पश्चिम, कपिलबस्तु, पाल्पा, गुल्मी ,अर्घाखाँची, बाँके, दाङ, बर्दिया र रोल्पा गरी १० जिल्ला सहभागी छन् ।
आठौंका लागि उत्कृष्ट १४ खेलाडी छनोट गरी प्रदेश पाँचको टिम बनाइने छ । नकआउट प्रतियोगिताको फाइनल फागुन २५ गते हुनेछ ।