काठमाडौं । राष्ट्रिय टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी 'एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड' अन्तर्गत पुरुषको बर्ष क्रिकेट खेलाडी अवार्डका लागि मनोनित भएका छन् ।
क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आइतबार सार्वजनिक गरेको मनोनित खेलाडी सूचीमा कप्तान पारससहित पाँच खेलाडी परेका हुन् । पुरुष बर्ष क्रिकेट खेलाडी अवार्डका लागि कप्तान पारससहित दिपेन्द्र सिंह ऐरी,करण केसी,सन्दीप लामिछाने र सोमपाल कामी रहेका छन् ।
यस्तै महिलातर्फ नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, इन्दु बर्मा, करुणा भण्डारी,सरिता मगर र सिता राना मगर मनोनयनमा परेकी छिन् ।
उदयमान क्रिकेट खेलाडीतर्फ अविनाश बोहरा,कविता कुँवर, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल र सन्दीप जोरा रहेका छन् ।
सिप्यानले एक प्राविधिक समिति गठन गरेर मनोनयनमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको जनाएको छ । समितिमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमटा, प्रशिक्षक विनोद दास, अम्पायर विनोद कुमार झा, अम्प्यार दुर्गानाथ सुवेदी, नेपाल खेलकुद पत्रकार मंचका प्रतिनिधि सरिता श्रेष्ठ, सुबास हुमागाई र टेक्निकल कोअर्डीनेटरमा रमण शिवाकोटी रहेका थिए ।
सिप्यानले बर्षको उत्कृष्ट क्षण अवार्डका लागि १० क्षणको सूची यसअघि नै सार्वजनिक गरिसकेको छ । यस्तै सिप्यानले लाइफटाइम्स अचिभमेन्ट अवार्ड समेत पर्दान गर्ने छ ।
बर्ष क्रिकेट खेलाडी पुरुषले अवार्डसंगै नगद १ लाख ३२ हजार प्राप्त गर्दा अन्य चार विधाका विजेताले समान ६६ हजार नगद पुरस्कार पाउनेछन् ।
सिप्यानले पाँच विधाको अवार्ड फागुन २१ गते प्रदान गर्नेछ ।