एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी चोटको समस्याबाट पिरोलिएको छ । स्टार खेलाडी नेयमार चोटका कारण लामो समययता मैदान बाहिर छन् । एडिन्सन काभानीको चोट समेत बेला बेलामा बल्झिरहेको छ । तर ठिक विपरित पीएसजीको प्रर्दशन उम्दा खालको छ ।
घरेलु लिगमा २० अंकको स्पष्ट अग्रता लिएको पीएसजी च्याम्पियन्स लिगमा समेत निकै सहज अवस्थामा छ ।
च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पीएसजीलाई २–० को अग्रता छ । म्यानचेष्टर युनाईटेडको घरेलु मैदानमा निकालेको शानदार जितले पीएसजी क्वार्टरफाईनलको नजिक देखिन्छ । दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा आगामी बुधबार हुदैछ ।
पेरिस भ्रमणमा निस्कदै गर्दा म्यान युनाईटेडलाई ठुलो डर केलियन एम्बाप्पेको रहनेछ । के म्यान युनाईटेडको डिफेन्स एम्बाप्पेलाई रोक्न तयार होला ?
यही प्रश्नको उत्तरले प्रिमियर लिग क्लबको च्याम्पियन्स लिग फुटबलको आगामी यात्राको बिषयमा धेरै जवाफ मिल्नेछ ।
उनै एम्बाप्पेको उत्कृष्ट फर्ममा पीएसजीले घरेलु लिग र च्याम्पियन्स लिगमा उत्कृष्ट नजिता निकालिरहेको छ । नेयमार र काभानीको अनुपस्थितीमा उनैले पीएसजीलाई बोकिरहेका छन् ।
शनिबार रातिमात्र उनले घरेलु लिगमा दुई गोल गरे । एक गोलले पछाडी परेको स्थिती उल्ट्याउदै उनले टोलीलाई महत्वपुर्ण जित दिलाए ।
एम्बाप्पेको उत्कृष्ट फर्मले पक्कैपनि प्रिमियर लिग क्लब म्यान युनाईटेडलाई सचेत बनाएको हुनपर्छ । कारण, म्यान युनाईटेडलाई च्याम्पियन्स लिगको दोस्रो लेगमा एम्बाप्पेलाई रोक्ने चुनौतीमात्र छैन । घरेलु टोलीविरुद्व फराकिलो जित निकाल्नुपर्ने चुनौती समेत छ ।